Sunday , June 25 2017

खहरे खोला जस्तो हुन चाहन्न : मोडल रन्जु

मोडल रञ्जु सुनामसँग गरिएको कुराकानीः

कलाकारिता क्षेत्रमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
२०११ मा मिस तराईमा भाग लिएँ । मिस कल्चरको अवार्ड पाएँ । त्यसपछि नेपाल टेलिभिजनबाट प्रशारित ‘हराएको साइनो’ सिरियलमा ‘मुना’को भूमिकामा अभिनय गरेँ । एक दर्जनाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेँ । होमवर्क, आवेग र कसैलाई नभन्नु चलचित्रमा नायिकाको साथीको भूमिका निभाएँ । चोलीको तुना सर्ट मुभी पनि गरेँ । फोटोसुटहरु नियमित भइरहन्छन् । केही विज्ञापनमा पनि खेलेँ ।

नेपाली कलाकारिता क्षेत्र कस्तो लाग्छ ?
समग्रमा नेपाली कलाकारिता क्षेत्र राम्रो छ । तर पनि यसभित्र केही समस्या अवश्य नै छन् । क्षमता भएर अघि बढ्न खोज्नेहरुले पनि मौका पाइराखेका छैनन् । राम्रो क्षमता भएका भन्दा पनि आफ्नो मान्छे छान्ने समस्या पनि देखिन्छ । यस्तो अवस्थामा क्षमता भएकाहरु निराश भएर बस्नुपर्ने अवस्था आउँछ ।

विकृति चाहिँ कस्ता छन् ?
राम्रा र नराम्रा पक्ष जुनसुकै क्षेत्रमा पनि हुन्छन । सवभन्दा ठूलो कुरा आफूमा भर पर्छ । आफु भलो त जगत भलो । अरुले के भन्छन भन्दा पनि आफूले आफ्नो ठाउँबाट राम्रो काम गरेर जानुपर्छ । मेरै कुरा गर्नुहुन्छ भने चार वर्षदेखि मिहेनत गरिरहेको छु । आफ्नो क्षेत्रबाट क्रमशः राम्रो गर्दैछु । खहरे खोलाजस्तो छिनमै आएर छिनमै बिलाउन म चाहन्नँ । नियमित मिहेनतबाट स्थापित हुन चाहन्छु ।

कलाकार बन्दाको राम्रा पक्ष चाहिँ के ?
कलाकार सधैँ अमर रहन्छन । मरेर गएपनि सवैले सधैँभरी सम्झन्छन । कलाकारिताको माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । कलाकारहरुलाई समाजको ऐना भनेको पनि त्यही भएर नै हो ।

कलाकारिता क्षेत्रमा लागेपछि सवैभन्दा खुशी कुन बेला हुनुभयो ?
मिस तराईमा छनोट हुँदा खुशी लाग्यो । मिस कल्चरको उपाधि जित्दा थप हौसला मिल्यो ।  अनि पत्रपत्रिकामा समाचार आइरहँदा र विज्ञापनमा देखिदा उत्साहित हुन्छु ।

दुःख कति बेला लाग्छ ?
आफूले गरेको मिहेनत अनुसार परीणाम नआउँदा दुःख लाग्छ ।

भविश्यमा के बन्ने सोच छ ?
म नायिका बन्छु भनेर आएको होइन । सानो भूमिकाबाट आएको हुँ । क्षमताले भ्याएसम्म राम्रो गर्छु र कलाकारिता क्षेत्रकी रञ्जु सुनाम भनेर चिनिन चाहन्छु ।

अन्त्यमा ?
मेरो कलाकारिता यात्रामा सहयोग गर्ने घरपरिवार, आफन्त, दर्शकहरुलाई आगामी दिनमा पनि माया गरिरहनुस भन्न चाहन्छु । सवैको सहयोगले नै आजको स्थानसम्म आइपुगेको छु । संचार माध्यमले पनि साथ दिइराखेका छन् । मेरो कमिकमजोरी केही भए औल्याइदिनुहोला ।

Check Also

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर …