Sunday , October 22 2017

चलचित्रमा भानु प्रताप को छलाङ्ग

फिल्म उद्योगमा प्रवेश गरेको छोटो समयमै आफूलाई परिचित गराउन सफल भए, भानुप्रताप । यिनी खास खलअभिनेताका रूपमा चिनिन्छन् । ०६९ सालमा विजय बस्नेतले निर्माण गरेको ‘दलाल’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका भानुप्रतापले त्यसपछि ‘वान वे’, ‘लक्ष्य’, ‘टिचर’, ‘रातो घर’लगायतका फिल्ममा खलचरित्र निर्वाह गरिसकेका छन् । तर, अब यिनी आफूलाई निर्माताका रूपमा स्थापित गर्ने धुनमा लागेका छन् । सोहीअनुरूप उनले निर्माण गरेको फिल्म ‘लालटिन’ प्रदर्शनको तयारीमा छ ।‘एकाएक कलाकारितामा आएँ,’ ठेक्कापट्टा, व्यापारका साथै राजनीतिमा सक्रिय रहेका भानुप्रताप भन्छन्, ‘बच्चैदेखि फिल्म हेर्न हुरुक्क हुन्थेँ । तर, फिल्ममै करिअर बनाउँला भन्नेचाहिँ सोचेको थिइनँ ।’ आफू विशेषगरी अंग्रेजी फिल्महरूबाट प्रभावित भएको बताउने उनी हलिउड अभिनेता टम ह्याङ्सका ‘ग्रेट फ्यान’ हुन् ।

अभिनेताका रूपमा उद्योगमा प्रवेश गरेको भए पनि अब भने फिल्म निर्माणमा निरन्तर लाग्ने योजना उनको छ । ‘निकै छानेर, मन परेको भूमिका मात्र गर्छु,’ उनी भन्छन्, ‘गुणस्तरीय फिल्मको पक्षमा छु । त्यसैले अब निर्माणमै बढी केन्द्रित हुन चाहन्छु ।’छोटो समयमै फिल्मी राजनीतिमा आफूलाई परिचित गराउन सफल भएका उनी चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघको केन्द्रीय सदस्य छन् । अन्यायको विरोध, निरन्तर लगाव, इमानदारी र सरल कार्यशैलीका कारण फिल्म उद्योगमा आफ्नो परिचय बनेको बुझाइ उनको छ ।

अभिनय, निर्माणका साथै स्क्रिप्ट लेखनमा पनि उनको दख्खल छ । लालटिन उनी आफैँले लेखेका हुन् । लालटिनबाहेक ‘एकलव्य’, ‘एकादशी’, ‘टिकी झुल’लगायतका उनले लेखेका फिल्म निर्माणको क्रममा छन् । दर्जनभन्दा बढी फिल्मको स्क्रिप्ट करेक्सन गरेको अनुभव उनीमा छ ।समसामयिक घटनामा लालटिन निर्माण गरेको बताउने भानुप्रताप खगेन्द्र लामिछाने, दयाहाङ राई र सौगात मल्लको अभिनयबाट प्रभावित भएको बताउँछन् । अरूको कामबाट त्यति सन्तुष्टि नमिलेकाले आफैँले फिल्म निर्माण गरेको खुलासा उनले गरेका छन् । ‘धेरैसँग काम गरियो, तर अरूको काममा मलाई त्यति सन्तुष्टि मिलेन । त्यसैले लालटिन बनाएँ ।’ देवकुमार श्रेष्ठको निर्देशनमा बनेको लालटिनले आफूलाई कुशल निर्माताका रूपमा स्थापित गराउने दाबी उनको छ । लालटिनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीलगायतले अभिनय गरेका छन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …