Tuesday , January 23 2018

चलचित्र ‘धनपति’ को समिक्षा

अघिल्लो वर्ष ‘उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक’ को अधिकांश फिल्मी अवार्ड कब्जा गरेको थियो, पशुपतिप्रसादले । यो फिल्म दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको पसिना, लगाव र सिर्जनशीलताको पुञ्ज थियो ।उनै दीपेन्द्र र खगेन्द्रको अर्को फिल्म ‘धनपति’ शुक्रबारदेखि सार्वजनिक भएको छ । नाम धनपति भए पनि गरिब एवं निमुखा पात्रबाट फिल्मको उठान हुन्छ ।
कस्तो छ कथा ?फिल्मको कथामा धेरै घोत्लिनुपर्दैन, विकृत राजनीतिक पृष्ठभूमिमा एउटा सामान्य नागरिकले भोग्ने दिनचर्या हो यो ।सानुकाजी अर्थात् धनपति यसका केन्द्रीय पात्र हुन्, जो काठमाडौंमा मासिक ४५ सयको डेरामा खुम्चिएका छन् । उसको सपनाले पनि उति ठूलो पखेटा फिजाएको छैन, बस् छोरीलाई सरकारी स्कूलबाट अंग्रेजी स्कूलमा स्थानान्तरण गर्न पाए पुग्छ ।

त्यही छोरीलाई केन्द्रमा राखेर धनपतिले गर्ने संघर्षको कथा हो, धनपति ।
ऊ एक रेष्टुरेन्टमा मासिक कमाइ १५ हजार रुपैयाँमा काम गर्छ । यति पैसाले घरखर्च धान्न पुग्दैन । त्यसमाथि छोरीलाई राम्रो स्कूल पढाउने आकांक्षाले धनपति दम्पतीलाई बेचैन बनाएको छ । त्यसबाहेक उसको परिवारमा सबै कुरा ठीकठाक चलिरहेको छ ।यसमा द्वन्द्व पैदा गर्ने अर्को पाटो छ, राजनीति । एक पार्टीका प्रमुख र उनका कार्यकर्ता धनपतिलाई आफ्नो चक्रव्यूहमा पार्ने दाउपेचमा छन् । तर, धनपतिलाई राजनीतिप्रति चरम वितृष्णा छ । किनभने त्यही राजनीतिक प्रतिशोधले उसको घर-परिवार उजाडिएको विगत उनको मनबाट अझै पखालिएको छैन ।धनपति स्वभिमानी छ । निडर छ । पसिनामा विश्वास गर्छ ।
तर, आफ्नो स्वभिमानको गाँस खाएर उसको सपना पूरा हुने छाँट छैन । दिनदिनैका बन्द, हडताल, महँगी, अभाव, हेपाइ र अपमानले ऊ क्रमशः गल्दै गएको छ ।ठीक यही मौका छोपेर उसलाई पैसाको प्रलोभनमा पारिन्छ र, राजनीतिक गोटी बनाइन्छ । अन्ततः ऊ पार्टीको कार्यकर्ता बन्छ भाषणवाजीमा उत्रिन थाल्छ । उसको राजनीतिक ‘सक्रियता’ यतिमै सीमित रहँदैन, ऊ परम्परागत राजनीतिक पात्र झैं बन्द, हडताल, तोडफोड र विध्वंसमै उत्रिन्छ ।

उनको अभीष्ट छैन, नेता बनेर राजनीति गर्ने । महत्वाकांक्षा छैन, अकुत सम्पत्ति कमाउने । केवल एउटी छोरीलाई राम्रो स्कूल पढाउन पाए पुग्छ ।
तर, जुन उद्देश्यका लागि राजनीतिमा होमिएको छ, त्यही उसको लागि गलपासो बन्छ ।राम्रो पक्षराजनीतिक सिद्धान्त, आदर्श र साधनाको आलोकमा टेकेर होइन, आफ्नै स्वार्थमा जेलिएर ‘पार्टीका खेताला’ बन्न पुगेका तमाम ‘कार्यकर्ता’ ले हेर्नैपर्ने फिल्म हो, धनपति । बाध्यता, अभाव अनि गरिबीको फाइदा उठाउँदै राजनीतिक दल तथा तिनका नेताले कसरी सर्वसाधारणलाई आफ्नो गोटी बनाउँछन् भन्ने कुरा फिल्ममा राम्ररी देखाइएको छ, ।

यो ब्यानरको अघिल्लो फिल्म ‘पशुपतिप्रसाद’ मा जस्तै यसमा पनि हिरोइज्म र तडकभडक छैन । फिल्म हेरिरहँदा आम पात्रलाई आफ्नै जीवन-भोगाइ पुनरावृत्ति भएको अनुभूति हुन्छ ।
फिल्ममा पात्र थोरै छन् । लोकेसन सीमित छ । कथा सामान्य र सरल छ । यहीभित्र हाँसो-ठट्टा, संवेदना र आवेग मिसाइएको छ ।फिल्ममा सबैभन्दा अब्बल देखिएका छन् आशान्त शर्मा, जो कुनै अमूक पार्टीको कार्यकर्ताको भूमिकामा देखिएका छन् । धनपति अर्थात खगेन्द्र लामिछाने, उनकी पत्नी बनेकी सुरक्षा पन्त, हरिहर शर्मा, रवि गिरी आदिको अभिनय स्वाभाविक लाग्छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …