Sunday , August 20 2017

‘प्रेमगीत २’ कस्तो ? अश्लेषा भन्छिन् यस्तो

वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ मा प्रदर्शनमा आएको ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ को अहिले गीतसंगीत र ट्रेलरको उतिक्कै चर्चा छ । अझ ‘प्रेमगीत’मा ‘प्रेम’को भूमिका निर्वाहा गरेका नायक प्रदीप खड्का झण्डै २ वर्षपछि पर्दामा फर्किएका कारण पनि यो फिल्म अहिले प्रतिक्षित बनेको छ । ‘प्रेमगीत’ मा नायिका पूजा शर्मासँग रोमान्स गरेका नायक प्रदीप खड्का ‘प्रेमगीत २’ मा भने नव-नायिका अश्लेषा ठकुरीको प्रेममा परेका छन् ।‘प्रेमगीत २’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका अश्लेषा ठकुरीले फिल्ममा आफूले निर्वाहा गरेको भूमिकालाई दर्शकहरुले रुचाउनेमा विश्वस्त रहेको बताइन् । फिल्मीखबर डटकमसँग फोनर्वार्तामा उनले भनिन्, ‘नेपालमा यस्तो लभस्टोरी फिल्म निर्माण भएको छैन । सबै वर्गका दर्शकलाई लक्षित गरेर निर्माण गरिएका कारण पनि ‘प्रेमगीत २’ एकपटक सबैलाई हेर्न आग्रह गर्छु । बलीउड स्तरको क्यान्भास र हलीउड स्तरको फाइट भएका कारण पनि ‘प्रेमगीत २’ ले दर्शकहरुलाई मनोरञ्जन दिनेमा शंका छैन ।’

उनले फिल्मको सबैभन्दा बलियो पक्ष प्रोडक्शन, निर्देशन र कास्टिङ रहेको पनि बताइन् । उनले अगाडि भनिन्, ‘प्रेमगीत २ रिलिज भएपछि मलाई दर्शकहरुले अश्लेषा भन्दापनि ‘गीत’ भनेर चिन्नुहुन्छ जस्तो लाग्छ । मलाई जून भूमिका दिइएको थियो त्यसलाई न्यायपूर्वक निर्वाहा गर्न सफल भएजस्तो लाग्छ । फिल्ममा नेपाली भएरपनि मैले टुरिस्ट क्यारेक्टरको फील गराएको छु ।’ उनले ‘प्रेमगीत’को साख ‘प्रेमगीत २’ ले जोगाउनेमा विश्वस्त रहेको पनि बताइन् ।रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्माणपक्षको भनाई छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …