Wednesday , May 24 2017

रेखा–आर्यनको ‘दुश्मनी’ सकियो

रेखा थापाको जीवनका अनेक आयामबारे कुरा गर्दा सम्बन्धका छुट्टै कथा छन्। सम्बन्ध विस्तार गर्न उनी जति खप्पिस छिन्, तोड्न पनि उत्तिकै माहिर। रसरङको दुनियाँमा उनी अनेक नामसँग जोडिइन्, तर दिगो सम्बन्ध भने कमैसँग रह्यो।आफ्नो ब्यानरबाट बनेका फिल्मबाट आएका अभिनेताहरुसँग उनको नाम सधैं चर्चामा रहन्थ्यो। फिल्म चलाउन अनेक तिकडम रच्ने रेखा सम्बन्धलाई पनि प्रचारको उत्तिकै बलियो हतियार बनाउँथिन्। तत्काल समयका लागि ती अभिनेताहरुसँग रेखा यति नजिक भएर आफूलाई प्रस्तुत गर्थिन्, केही समयमै ती सम्बन्ध धरापमा परेका खबर आइहाल्थे।रेखाको सम्बन्धको कथामा आर्यन सिग्देल एक मुख्य पात्र हुन्, जो रेखाकै निर्माणमा बनेको फिल्मबाट ‘चकलेटी हिरो’को रुपमा डेब्यु गरेका थिए। ‘किस्मत’ बाट फिल्मक्षेत्रमा ‘हिरो’को भूमिकामा भित्रिएका आर्यन र रेखाको जोडी हिफाजत, कसले चो¥यो मेरो मनसम्म तन्कियो। त्यसपछि विस्तारै खुम्चिन सुरु भएको यी दुईको सम्बन्ध झन्डै सात वर्षपछि फेरि साथको बाटोमा लागेको छ। यो यस्तो समय हो, दुवै ‘स्टार’को स्टारडम पहिलेजस्तो छैन। रेखा राजनीतिमा होमिएर चर्चा बटुलिरहँदा अन्तरमुखी स्वभावका आर्यन भने न फिल्ममा उति देखिएका छन्, न कुनै सभा–समारोहमा उनको चर्चा छ।
घोषणा भइसकेको ‘कसले चो¥यो मेरो मन फेरि’ रोकेर उनले ‘रुद्रप्रिया’ घोषणा गरिन्। सुदीप बबी भूपाल सिंहलाई निर्देशकमा लिएर अभिनयसमेत गर्ने निर्देशक सुदर्शन थापा र निर्देशनसमेत गर्ने अभिनेता अर्पण थापालाई मुख्य भूमिका तोकेर घोषणा गरिएको फिल्ममा हालै आर्यन भित्रिएका छन्। चैत महिनामै सुटिङमा जाने भनिएको फिल्म रेखाको राजनीतिक व्यस्तताले पर धकेलियो। रेखाका कारण फिल्मको सुटिङ धकेलिँदा फिल्मका मुख्य अभिनेताद्वयको आ–आफ्नो निर्देशकीय फिल्मको रिलिज मिति भने नजिकिँदै जाँदा आर्यन र रेखाको ‘पुनर्मिलन’ सम्भव भयो।रेखाको भनाइमा फिल्ममा आर्यन रुद्र हुनेछन् भने रेखा रुद्रकी प्रिया बन्नेछिन्।बुधबार बालुवाटारस्थित रेखाको फिल्म कार्यालयमा आर्यनले फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गरे। दुवैले हात मिलाए। अंकमाल गरे। आफूहरु फेरि सँगै जोडिन लागेको जनाउ दिए।तर, आफूहरुको ‘दुश्मनी’ सकिएर ‘पुनर्मिलन’ भएको कुरालाई भने दुवैले अस्वीकार गरे। घुमाउरो भाषामा आफूहरुको सम्बन्ध ‘पानी बाराबार’को स्थितिमा कहिल्यै नपुगेको दाबी गर्दै पर्खाईमा रहेको सही समय बल्ल जुरेको प्रतिक्रिया दिए। तर, उनीहरुको सम्बन्ध उनीहरुले अहिले दाबी गरेजस्तो भने पटक्कै थिएन। त्यतिबेला चर्चामा आएअनुसार कसले चो¥यो मेरो मनपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो। फिल्मी समारोहमा भेट हुँदा पनि एकले अर्काेलाई नदेखेझैं तर्केर हिँड्थे।
 आर्यनको भनाइमा जतिबेला उनीहरुको सम्बन्ध पानी बाराबारको स्थितिमा पुगेको भन्ने जुन चर्चा हुन्थ्यो, ती सबै चर्चा गर्नेहरुको ‘कल्पना’  हुन् रे। ‘म यी सबै चर्चामा इन्जोय गरिरहेको थिएँ,’ आर्यनले भने, ‘दुश्मनीको कुरा गलत हो। सही समयको पर्खाईमा थिएँ। अहिले स्क्रिप्टले बोलायो।’
रेखाको भनाइ भने अलि बेग्लै थियो। दुश्मनीको कुरालाई अस्वीकार गर्दै ‘इगो’ भने रहेको स्वीकार गरिन्। ‘हाम्रो सानो इगोका कारण फिल्मक्षेत्रमा ठूलो घाटा लागेको महसुस भएको छ,’ रेखाले भनिन्, ‘ऊसँग मेरो केमेस्ट्री मिल्छ। उसको र मेरो जोडी स्क्रिनमा पावरफुल देखिन्छ। सह–अभिनेता कमजोर हुँदा पावरफुल बन्दैन तर आर्यन र मेरो जोडी पावरफुल बन्छ। दर्शकले हामीलाई त्यही भएर मन पराएको हो। योबीचमा हामीले दर्शकमाथि अन्याय पो ग¥यौं कि जस्तो लाग्दैछ।’
रेखाको दाबीअनुसार रुद्रप्रियाका लागि सुरुमा आर्यन नै पहिलो छनोटमा थिए। तर, आर्यनको समय नमिल्दा फिल्ममा अनुबन्ध हुन ढिला भएको हो। ‘ऊ नै पहिलो रोजाई हो भन्ने त उसलाई थाहा थियो नि त,’ रेखाले भनिन्, ‘त्यसैले ऊ खेल्न राजी भएको हो।’निर्देशक लेखनसमेत रहेको फिल्म ‘रुद्रप्रिया’ को छायांकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायांकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।

Check Also

प्रियंका चोपडाको निर्माणमा नेपाली फिल्म “पाहुना”

बलीउड एक्ट्रेस प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गरेकी छिन्। हालै उनको फिल्म ‘पाहुना’को पोस्टर सार्वजनिक …