Tuesday , October 17 2017

रेखा-निखिल सम्बन्ध : विग्रियो कसरी, सुध्रियो कसरी ?

माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । खास कार्यक्रम भने फिल्म ‘रुद्र’को प्रिमियर थियो । उपस्थितीका लागि २ बजे निमन्त्रणा दिइएको भएपनि साढे ४ बजे सुरु भयो ‘रुद्र’ प्रिमियर । रमेश उप्रेती, आकाश अधिकारी, सञ्चिता लुईटेल लगायतका चलचित्रकर्मीदेखि पत्रकारहरुको प्रिमियरमा बाक्लो उपस्थिती थियो । यस्तैमा नायिका रेखा थापा पनि टुप्लुक्कै देखा परिन् । नायिका रेखा थापा ‘रुद्र’ प्रिमियरमा पुग्दा मिडियाका क्यामेराहरु एकछिन त अलमलमै परे ।रेखा सपिङका लागि त आएकी होइनन् ? पत्रकारको मनमा अनेकौ प्रश्नहरु उब्जिन थाले । यस्तैमा विजी मलको ५ औं तल्लामा रहेको विएसआर सिनेमा हलको आँगनमै रेखालाई स्वागत गर्न नायक निखिल उप्रेती लिफ्टको छेवैमा पुगे । त्यसपछि त मिडियाको क्यामेरा अगाडि ढपक्कै ढाकिए रेखा र निखिल । झण्डै १० वर्षपछि रेखा र निखिललाई मिडियाले यसरी एकसाथ क्यामेरामा कैद गर्न पाएका थिए । सायद तिर्खाएका थिए मिडियाका क्यामेराहरु पनि किनकी सबै सेलिव्रिटीका तश्वीरहरु कैद गरेपनि निखिल र रेखा एकसाथ उभिएका तश्वीरहरु क्यामेराको मेमोरी कार्डमा अट्न पाएका थिएनन् ।१० वर्षपछि मिडियाको क्यामेरा अगाडि सँगै उभिएका निखिल र रेखाका माझ पत्रकारहरुका अनेकौ प्रश्नहरु बज्रिए । पत्रकारका प्रश्नहरुलाई सधै गतिलो झटारोसहित उत्तर दिन माहिर निखिल र रेखाले यसपटक पनि प्रत्येक प्रश्नहरुको सरल उत्तर फर्काए । रेखाले भनिन्, ‘शुक्रवारबाट फिल्म ‘रुद्र’ लाग्दैछ म सबै दर्शकहरुलाई एकपटक हेर्न आग्रह गर्छु ।’ रेखाले आफ्नो फिल्मको प्रचार गरेपछि निखिल पनि कमजोर बन्न सकेनन् र उनले पनि भने, ‘रेखा अभिनित फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकहरुमात्र होइन म पनि फिल्म हेर्न आतुर छु ।’ यतिभएपछि रेखा र निखिल दुवै मख्ख ।पत्रकारको फेरि प्रश्न आयो, ‘आखिर के कारणले तपाईहरुको सम्बन्ध विग्रिएको थियो ?’ यसको उत्तरमा उनीहरुले मिडियालाई दोष दिए । निखिलले भने, ‘हाम्रो सम्बन्ध कहिले विग्रिएको नै थिएन । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबर आएको हो । हाम्रो त प्रायः भेटघाट भइरहन्छ ।’ निखिलको उत्तर लगत्तै रेखाले भनिन्, ‘निखिल दाईसँग म कहिले रिसाएको थिइन । हाम्रो सम्बन्ध दाई र बहिनीको जस्तो छ । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबरहरु आएका हुन् तर हामीबिचमा पहिला जस्तो सम्बन्ध थियो अहिले पनि उस्तै छ ।’त्यसो भए किन यत्रो वर्ष एकसाथ देखिनु भएन ? पत्रकारको प्रश्नको गतिलो उत्तर फकाउँदै निखिलले भने, ‘हामीले भेट गरेको बेला तपाईहरु हुनुहुन्न थियो । त्यसैले हामीबिचको भेटघाट मिडियामा आएन ।’१० वर्षपछि एकसाथ मिडियामा उभिएका रेखा र निखिललाई सोध्न पत्रकारका प्रश्न सकिएका थिएनन् । फेरि प्रश्न आयो, ‘के अब यो जोडीलाई फिल्ममा हेर्न सकिन्छ ?’ दुवैले एउटै उत्तर दिए, ‘किन नसक्नु ? हामी कलाकार हौं, काम हाम्रो पेशा हो । पहिला पनि सँगै काम गरेका थियौं र आगामी दिनमा पनि गर्नेछौं ।’ निखिलले भने, ‘रेखा पनि निर्माता म पनि निर्माता । अभिनयमात्र होइन मिलेर हामीले फिल्म पनि निर्माण गर्न सक्छौं । मात्र हाम्रो झगडा केमा हुनसक्छ भने लगानी बढी कसले गर्ने ।’ निखिलको यो उत्तर रेखालाई साह्रै चित्त बुझेछ क्यारे उनले मज्जाको हाँसोले निखिलको उत्तरमा सही थपिन् ।मंगलवार साँझ निखिल आफैले रेखालाई फोन गर्दै ‘रुद्र’ हेर्न निमन्त्रणा दिएका थिए । यो कुरा निखिल आफैले मिडियाको अगाडि खुलाए । रेखालाई धन्यवाद दिँदै निखिलले भने, ‘मेरो एक फोनमा रेखाले आफ्नो व्यस्त समयको बाबजुत पनि ‘रुद्र’ हेर्न समय निकालेकोमा धन्यवाद दिन चाहन्छु ।’५ वर्षपछि कमब्याक गरेको फिल्म ‘भैरव’ बाहेक लुटेरा, निर्भय, किंग, राधे फिल्म असफल हुँदा निखिल अहिले आफ्नो स्टारडम जोगाउने दौडमा छिन् भने रेखा पनि आफ्नो खस्किएको क्रेज बचाउने सुरमा छिन् । उनी अभिनित फिल्म ‘पलाँस’ र ‘डायरी’ असफल भएका थिए । रेखाले आफ्नो बाठो वुद्धिले ८ वर्षसम्म पानीबाराबारको सम्बन्ध रहेको आर्यन सिग्देललाई समेत आफ्नो अँगालोमा कसिन् र सबै दुश्मनी अँगालोमा नै अन्त्य गरिन् । आर्यन र रेखा अभिनित फिल्म ‘रुद्रप्रिया’ प्रदर्शनको पखाईमा छ ।

कसरी विग्रिएको थियो निखिल र रेखाको सम्बन्ध ?
आखिर विग्रिएको चाँही कसरी थियो रेखा र निखिलको सम्बन्ध ? यो जान्न तपाईहरु पनि इच्छुक हुनुहुन्छ । मिडियामा प्रकाशन भएका समाचारलाई आधार मान्ने हो भने निखिलले फिल्म ‘हिम्मत’मा काम गर्नका लागि महंगो पारिश्रमिक मागेपछि रेखामा निखिलप्रति ‘इगो’ पलाएको हो । यसैले उनीहरुलाई झण्डै १० वर्ष दुश्मन बनायो ।निखिलले सबै दुश्मनी भुलेर ५ वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘भैरव’को एक आइटम गीत खेलिदिन आग्रह गर्दै रेखाको घरको ढोका समेत ढकढकाएका थिए । निखिलले सबै दुश्मनी त्यागेर घरकै ढोका ढकढकाएपनि रेखाले फिल्मको अफर भने ठाडै अस्वीकार गरेकी थिइन् । यसपछि त झन उनीहरुको सम्बन्ध पानीबाराबारको अवस्थामा पुगेको थियो । यतिसम्मकी ‘भैरव’मा काम गर्न अस्वीकार गरेका कारण निखिल रेखाको अनुहारको त कुरै छाड्औं नाम समेत सुन्न चाहेका थिएनन् । निखिलले एक अन्तर्वार्तामा रेखालाई सिधै भनेका थिए, ‘मेरो पनि दिन आउँछ ।’कमजोर बनेको स्टारडम बचाउन सायद अब निखिल र रेखाले दुश्मनी त्यागेर मिल्नुको विकल्प भेटेनन् । बुधवार एकअर्काको अँगालोमा कसिँदै रेखा र निखिलले झण्डै १० वर्ष पुरानो दुश्मनी गोंगवुको विजी मलको एउटा सानो कुनामा सकाए । अब सायद यो सुन्न नपाइएला कि रेखा र निखिल फेरि एकअर्काका दुश्मन भए । रेखा र निखिलको यो मिलन फिल्मको पर्दामा पनि देख्न पाइन्छ वा पाइदैन त्यो भने समयको हातमा छ ।निखिल र रेखाले दोवाटो, दुनियाँ, क्रोध, वरमाला, कर्मयोद्धा, धडकन लगायतका दर्जन बढी फिल्ममा एकसाथ काम गरेका छन् । यो जोडीलाई दर्शकहरुले ठूलो पर्दामा निकै रुचाएका थिए ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …