Tuesday , November 21 2017

शिशिर योगी र मीना निरौलालाई छिन्नलता पुरस्कार

छिन्नलता गीत पुरस्कार गुठीले २०७३ को छिन्नलता गीत पुरस्कार गीत रचना, गायन, सङ्गीत विधामा चार स्रष्टा र छिन्नलता विशेष सम्मान दुई स्रष्टालाई समर्पित गर्ने भएको छ ।  गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सोमबार बसेको बैठकले छिन्नलता गीत पुरस्कार गीत रचनामा धनेन्द्र विमल, गायनमा शिशिर योगी र सङ्गीतमा टीका भण्डारी तथा युवा नवप्रतिभामा मीना पोख्रेल निरौलालाई अर्पण गर्ने निर्णय गरेको हो। ती पुरस्कारको राशि जनही ५० हजार र सम्मानपत्र रहेको छ भने नवप्रतिभा पुरस्कारको राशि ३५ हजारसहित सम्मानपत्र रहेको छ।

यसैगरी, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई अर्पण गर्ने निर्णय भएको गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए। ती सम्मानमा जनही ५० हजार नगद राशी रहेको छ।  विसं २०३९ मा स्थापित सो गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुर्‍याएवाफत हरेक वर्ष छिन्नलता पुरस्कार र सम्मान अर्पण गर्दै आएको छ। गुठीका संस्थापक एवम् गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिको अवसर पारेर असार २० गते पुरस्कार र सम्मान वितरण गरिने सहकोषाध्यक्ष ढुङ्गानाले जानकारी दिए।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …