Wednesday , November 22 2017

शालीन लजालु – नवीन के भट्टराई

बेलायती ब्यान्ड डिप पर्पलले सन् १९७० मा चौथो एल्बमका रूपमा ‘डिप पर्पल इन रक’ ल्याएको थियो। यस एल्बम युद्धविरोधी गीतहरूले भरिएको थियो। त्यसबेला भियतनाम युद्ध उत्कर्षमा पुगेको थियो। हार्ड—रक ब्यान्डको भियतनाम युद्धविरोधी भनिएको गीत चाइल्ड इन टाइम नवीन के भट्टराईले सानो छँदा खुबै सुनेका थिए। आफ्नो जन्मपूर्वको सिर्जना उनी अहिले पनि सुन्ने गर्छन्। ‘भ्वाइस यस्तो छ जति सुन्यो केही न केही सिकिन्छ। म्युजिकको पावर पनि त्यही हो। जति सुन्यो त्यति राम्रो,’ उनले भने।

डिल्लीबजारका नवीन डिप पर्पल, रोलिङ स्टोनलगायतका अंग्रेजी गीत सुन्दै हुर्किए। रोलिङ स्टोनको एल्बम स्टिल ह्विल्सबाट प्रभावित भएर उनले साथीहरूसँग मिलेर ब्यान्ड नै बनाए, द स्टिल ह्विल्स। अल्लारे छँदा खोलिएको ब्यान्ड टिकेन। साथीहरू टाढिँदै गएपछि नवीन गीत रेकर्ड गराउने बेला भने एक्लो भए। २०५१ सालतिर उनले आँखामा तिमीलाई रेकर्ड गराए तर कसैले बजाउन मानेन। आपतै पर्‍यो। निराश बनेका उनले प्याक गरेर दराजमा थन्क्याइदिए।तर आँखामा तिमीलाई प्रनिल तिमल्सिनाको नजरमा पर्‍यो। ‘उनले कहाँ सुनेका रहेछन्, सबै काम आफैं गर्छु भनी गीत लिएरै गए। गीत बज्यो। हिट पनि भयो,’ बानेश्वरस्थित आम्स्टर्डम क्याफेमा भेटिएका नवीनले सुनाए। नेपाली युवामा पप संगीत लोकप्रिय भइरहेको त्यसबेला उनको गीत फरक स्वादको थियो। पहिलो गीतसँगै उनी हिट भए। त्यसले उनको जीवनको बाटो नै बदलिदियो। न विदेश जानुपर्‍यो न त जागिर नै खानुपर्‍यो। उनी चर्चित गायकमा रूपान्तर भए, जसको जीवन संगीतकै स्रोतले राम्रोसँग चल्ने गर्छ।

पहिलो एल्बम ब्यान्डबाटै निकालेपछि उनले १३ वटा एकल एल्बम ल्याइसकेका छन्। पहिलो एकल एल्बम रहरै रहरमा (२०५३) ले नेपाली संगीतको बजारमा तहल्का नै मच्चायो। त्यसपछि बर्सेनि लगातार सात एल्बम दिए। आभास, स्मृति, सम्झना, समर्पण, नवीन र द ब्लु। क्यासेट प्लेयरको जमानामा यी सबै हातहातै बिक्री भए। प्रत्येक एल्बम १ लाख बढी बिक्री भएको नवीन सम्झन्छन्। त्यसबेलाको एक लाख बिक्री भनेको अहिले युट्युबमा १ करोड भ्युअर्स पुग्नुजस्तै हो।उनको कन्दरा, मोहन भुसाल, दीपक वज्राचार्य, गिरीश–प्रनिलसँग बजारमा प्रतिस्पर्धा चल्थ्यो। लगातार हिट गीत दिएपछि उनलाई कन्सर्टमा पनि भ्याइनभ्याई हुन थाल्यो। एकै दिन तीन कन्सर्टमा ६० वटा गीत गाउन भ्याए। हजारौं कन्सर्ट गरेका उनी लाइभ पर्फमेन्सलाई जोड दिन्छन्। पहिले खुला मैदानमा कन्सर्ट हुन्थ्यो। अहिले क्लब, पब, हलमा प्रवेश गरेको छ। उनी अहिले पनि मासिक २–३ कन्सर्ट भ्याइरहेका हुन्छन्।‘हिट हुनेले पैसा पनि कमाउँछ, कमाएको छ। मैले पनि सन्तुष्ट हुने गरी नै कमाएको छु। अरू काम गरेकै छैन,’ शालीन गीतजस्तै लजालु स्वभावका नवीनले भने, ‘सबभन्दा महत्त्वपूर्ण म्युजिकमा माया पाइन्छ।’ पोखराकी नवीना फ्यानबाट उनको जीवन साथी नै भइन्।

उनले एक सय बढी गीत रेकर्ड गरेका छन्। सबै गीत उनकै सिर्जना हुन्। ‘मुड हो,’ सर्जक बन्ने समयबारे उनले भने, ‘जब दिक्क हुन्छ तब म्युजिक आउँछ। स्वाद आउँछ। ट्युनले गीत खोज्छ अनि शब्द आइहाल्छ,’ उनले बताए। कुरा २०५४ सालतिरको हो। उनलाई राति एक राम्रो गीत फुरेको थियो। ‘अहिलेजस्तो मोबाइल थिएन। क्यासेट प्लेयरमा रेकर्ड गर्नुपथ्र्यो। सम्झिहाल्छु भन्ने भयो तर बिर्सिंदोरहेछ,’ ४४ वर्षीय उनले भने, ‘त्यो गीत अहिलेसम्म खोजिरहेछु। माइन्डमा कता छ कता, कुनै बेला आउँछ कि’उनलाई आफ्ना सिर्जनाहरूमायदि मैले गितार नसमाएको भए, साँझपख एकान्तमा, तिमीलाई मन पराउँछु, आँखामा तिमीलाई खुबै मनपर्छ। ‘कथा राम्रो छ, आफंैलाई महसुस हुन्छ,’ उनले भने। उनले चार वर्ष आराम गरे। एल्बमको कुरै भएन, कुनै गीत पनि रेकर्ड गराएनन्। त्यसैले उनको युग फेरिएको हो कि भन्ने लाग्यो। तर २०७० सालमा फिक्का—फिक्का एल्बममार्फत फर्कंदै उनले ५ अवार्ड जितेर आफ्नो उपस्थितिलाई पुन: सिद्ध गरे।एल्बम निकाल्ने चलन गायकको बायोडाटामा प्लस प्वाइन्ट मात्र बनेको छ। अहिले म्युजिक मार्केट युट्युबमा निर्भर छ। गायकको मुख्य कमाइ कन्सर्ट बनेको छ।

युट्यबमा हिट भयो भने कन्सर्टमा माग बढ्ने हो। युट्युब युगमा नवीनको परीक्षण आउने एल्बमबाट हुनेछ। उनका पुराना नम्बरहरू एफएम, रेडियो टीभी च्यानलहरूमा अहिले पनि आइरहन्छ। सरकारले गायक र सर्जकलाई रोयल्टी दिनुपर्ने नियम ल्याएको पनि वर्षौं भइसक्यो। तर उनी भन्छन्, ‘सीआरबीटी, पीआरबीटीबाट एक पैसा पनि पाएको छैन। कमाइ कन्सर्टबाट मात्रै हो।’चार वर्षयता बारमा पनि गाइरहेका उनले युट्युबमा श्रोताभन्दा दर्शक केन्द्रित म्युजिकको भीड बढेको सन्दर्भमा भने, ‘बजारले कला बचाउने हो तर कलाले पनि सिर्जनशीलताबाट बजार बचाउनुपर्छ।’ पछिल्लो पुस्तामाअल्बाट्रस र जिन्दावाद ब्यान्डलाई राम्रो मान्ने उनी यसपालि दसैंअघि १४ औं एल्बम ल्याउने तयारीमा छन्। आउने एल्बम फरक खालको हुने उनको दाबी छ। ‘साइलेन्स पनि म्युजिक हो,’ क्यापका सौखिन उनले गम्भीर हुँदै भने, ‘बाजा एकदमै कम प्रयोग गर्नेछु। इलेक्ट्रिक म्युजिक सकभर राख्ने छैन।’

 

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …